काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फर्छ्यौट गरेको छ। मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फर्छ्यौट भएको हो।
आर्थिक वर्ष २०७४-७५ देखि २०७८-७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा मुद्दा फस्र्योट गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताएकी छन्। “अधिकांश मुद्दाका दुई पक्षबीच मेलमिलाप गरेर समाधान गरिएको छ”, उनले भने, “धेरैजसो पारिवारिक, घरजग्गा र लेनदेन सम्बन्धी मुद्दा आउँछन्।” आर्थिक वर्ष २०७४-७५ का ६० र २०७५-७६ मा ५६ वटा मुद्दा दर्ता भएकोमा सबै मुद्दा सोही वर्ष फर्छ्यौट भएका थिए। २०७६-०७७ मा दर्ता भएका ५३ मध्ये ५२, २०७७-७८ का ३२ मध्ये २२ वटा फर्छ्यौट भएका थिए। चालु आर्थिक वर्षको चार महिनाको अवधिमा चारवटा दर्ता भएकोमा दुईवटा फर्छ्यौट भएका छन्। बिटालुको संयोजकत्वमा दोरण शेरचन र भीम पुन सदस्य रहेको न्यायिक समितिले परेका उजुरीको दुवै पक्षलाई छलफल गराई विवाद समाधान गराउँदै आएको छ। मालिकामा ३६ मेलमिलापकर्ता छन्। स्थानीयस्तरमै न्यायिक काम हुँदा अदालत र प्रहरीमा धाउनुपर्ने समय र त्यहाँ जाँदा हुने खर्च बचेको सेवाग्राहीले बताएका छन्। न्यायिक समितिको इजलास स्थापना गरे पनि कानूनी विशेषज्ञको आवश्यकता खड्किएको उपाध्यक्ष बिटालुले बताइन्।
यसैगरी, बेनी नगरपालिकाको न्यायिक समितिले गत वर्ष १९ वटा उजुरी परेकोमा १७ वटाको फैसला गरेको छ। मङ्गला गाउँपालिकाले गत आर्थिक वर्षमा ७३ वटा उजुरी दर्ता भएकोमा ६६ वटा फैसला भएको र यस वर्ष दर्ता भएका ६ वटा मुद्दा फर्छ्यौटको क्रममा रहेको छ। रघुगङ्गाकी उपाध्यक्ष कमला तिलिजाले गत वर्ष नौवटा उजुरी दर्ता भएकोमा पाँचवटा मेलमिलाप भएको, दुईवटा अदालतमा पठाइएको र दुईवटा भने यस वर्षलाई जिम्मेवारी सरेको जानकारी दिइन्। उनले इजलास नहुँदा न्यायिक समितिको कामकाज प्रभावित बनेको बताएकी छन्।