'न्यायाधीशहरूका कारण न्यायालयको शिर झुकेको छ'

काठमाडौँ । राजधानीको बानेश्वरस्थित होटेल एभरेष्टअगाडि स्वतन्त्र कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको स्वतन्त्र पक्षधर प्रदर्शन आयोजना गरेका छन्।

आन्दोलनकारी वकीलहरूले विद्रोहको एजेण्डा किर्ते साबित भइसक्दा पनि नाराबाजी र धर्ना कायमै राखिरहँदा स्वतन्त्र कानून व्यवसायीहरूले पनि काउन्टर प्रदर्शन जारी राखेका हुन्। सर्वोच्च अदालतको स्वतन्त्रताको पक्षमा स्वतन्त्र कानून व्यवसायीहरू शुरूदेखि नै उभिएका हुन्। आज शुक्रबार पनि आन्दोलनकारीहरूले अराजकता पेश गर्दै सर्वोच्च परिसरअघि हुलढुंगा मच्चाएको विरोधमा स्वतन्त्र कानून व्यवसायीहरूले दबावको शासन अदालतमा लागू गर्ने दुस्साहस नगर्न चेतावनी दिएका हुन्।  उनीहरूले 'कानूनी सर्वोच्चता कायम गर!', 'स्वतन्त्र न्यायपालिका, हाम्रो चाहना!',  'विधिको शासन कायम गर!', 'दबावको शासन अन्त्य गर!' 'जनताको मुद्दा हेर्नैपर्छ! जनताले न्याय पाउनैपर्छ!', 'मुद्दा नहेर्ने न्यायाधीश मुर्दावाद!, मुद्दा हेर्न नदिने वकील मुर्दावाद!' 'नेपाल जननी जिन्दावाद! नेपाली जनता जिन्दावाद!' लगायतका ब्यानरसहित न्यायपालिकाको पक्षमा आन्दोलनकारीहरूलाई प्रतिवाद गरेका हुन्।
स्वतन्त्र कानून व्यवसायीको काउन्टर प्रोटेस्टलाई समर्थनमा गर्दै अधिवक्ता आकृति रायमाझीले आन्दोलनकारी बार पादाधिकारीको विरोध गरेकी छन्। अधिवक्ता रायमाझीले भनिन्, 'कालो कोट धारण गरेर वकीलले बहस गर्नुपर्दैन, न्यायाधीशले न्याय दिनुपर्दैन भनिराख्नुभएको छ। वकील न्यायाधीशहरूको यस्तो गतिविधिले समग्र न्यायपालिकाले नै शिर झुकाउनु पर्ने स्थिति बनिरहेको छ।' उनले अगाडि भनिन्, 'अदालत भनेको कसैको दाइजो, कसैको पेवा होइन। कसैले बन्द गर्छु भन्दैमा बन्द गर्न पाइऊदैन। अदालत भनेको स्वतन्त्र संस्था हो। २-४ न्यायाधीशहरूले भन्दैमा न्यायालय बन्द हुन पाउँदैन!'

सर्वोच्च अदालतको फुलकोर्ट बैठकको निर्णयको माइन्युटमा समेत किर्ते भाषा प्रयोग गरी गोलाप्रथा प्रणालीमा जाने प्रक्रियालाई आलटाल गर्न खोजिएको पाइएपछि स्वतन्त्र कानून व्यवसायीहरूले आन्दोलनलाई कडाइकासाथ अघि बढाउने चेतावनी दिएका छन्। तर, बहुमत न्यायाधीशहरू गोलाप्रथाको समर्थनमा देखिएपछि राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन थालिसकिएको हो।

यतिबेला सबै न्यायाधीशहरू इजलास फर्किसकेपछि बारको आन्दोलन स्वतः विफल भइसकेको छ। तर, बारले अराजक शैलीमा आन्दोलनलाई थप तन्काउने कोसिस गर्दै आएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×