काठमाडौँ - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध हटाएको छ। फिफाले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिफा काउन्सिल ब्यूरोले पाकिस्तान फुटबल फेडेरसन (पीएफएफ)माथिको प्रतिबन्ध हटाइएको जानकारि दिएको हो।
फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमाथि तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। पीएफएफको नर्मलाइजेसन कमिटीले कार्यालयको पूर्ण नियन्त्रण फिर्ता लिएको र यसको आर्थिक व्यवस्थापन गर्ने स्थितिमा रहेको पुष्टि गरेपछि यो निर्णय गरिएको फिफाले जनाएको छ।
यस्तै फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा र अनुचित किसिमको हस्तक्षेप भएमा फेरि प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ। प्रतिबन्ध हटेपछि अब पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ।
नर्मलाइजेसन कमिटीलाई ३० जुन २०२२ सम्म आफ्नो काम पूरा गर्न समय दिइएको तर त्यो यथार्थपरक नभएकोले फिफा ब्यूरोले त्यसलाई एक वर्षपछि अर्थात ३० जुन २०२३ सम्म बढाउने निर्णय गरेको छ।
नर्मलाइजेसन कमिटीले तोकिएको कार्यहरू पूरा गर्न फिफाले जनाएको छ। अब नर्मलाइजेसन कमिटीको काम पीएफएफको निर्वाचन गर्ने र फुटबल गतिविधि फेरि सुरु गर्ने रहेको छ।