नेपोलीको सहज जितमा ओसिमेनको ह्याट्रिक

काठमडौँ - भिक्टोर ओसिमेनले इटालियन सिरी ‘ए’मा पहिलो ह्याट्रिक गरेको दिन नेपोलीले शनिबार राति सासउलोमाथि ४-० को सहज जित हासिल गरेको छ। यससँगै नेपोलीले शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ।

नाइजेरियाका २३ वर्षे फरवार्ड ओसिमेनले चौथो मिनेटमा गरेको गोलबाट नेपालीले अग्रता लिएको थियो। १९ औँ मिनेटमा ओसिमेनले अग्रता दोब्बर बनाए। ३६ औँ मिनेटमा खिचा कारात्सेलियाले तेस्रो गोल थपेका थिए। ओसिमेनले दुवै गोल कारात्सेलियाको पासमा गरेका थिए। २ जनाले सबैखाले प्रतियोगितामा एकअर्कासँग मिलेर १६ गोल गरेका छन्।

ओसिमेनले ७७ औँ मिनेटमा ह्याट्रिक गरेका हुन्। तिघ्राको चोटका कारण १ महिना मैदान बाहिर रहेका ओसिमेनले पछिल्लो ४ खेलमा ६ गोल गरिसकेका छन्। जारी सिजन उनले लिगमा ७ गोल गरिसकेका छन्। यससँगै लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। बोलोग्नाका मार्को अर्नाटोभिकले पनि ७ गोल गरेका छन्। नेपोलीकै कारात्सेलियाले ६ गोल गरेका छन्। 

जितसँगै नेपोलीले लिगमा अपराजित यात्रालाई १२ खेलसम्म कायम राखेको छ। साथै क्लबले सबैखाले प्रतियोगितामा गरी विजयी यात्रालाई कीर्तिमानी १३ खेलसम्म लम्बाउन सफल भएको छ। यसअघि, म्यारोडोना हुँदा १९८६ मा नेपोलीले ११ खेलसम्म विजयी यात्रा कायम राखेको थियो।

लिगमा नेपोलीले १२ खेलबाट ३२ अंक जोडेको छ। दोस्रो स्थानको एसी मिलानले ११ खेलबाट २६ अंक जोडको छ। पराजित सासउलो १५ अंकका साथ नवौँ स्थानमा रहेको छ।

३२ वर्षपछि उपाधि उचाल्ने अभियानमा रहेको नेपोलीले खेलअघि क्लबका महान खेलाडी डिएगो म्यारोडोनालाई सम्मान व्यक्त गरेको थियो। साथै, रंगशालामा बनाइएको म्यारोडोनाको शालिकको अनावरण गरिएको थियो। अर्जेन्टिनाका फरवार्ड म्यारोडोनाले नेपोलीबाट २ लिग उपाधि उचालेका थिए। म्यारोडोनोको २५ नोभेम्बर २०२० मा निधन भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×