काठमाडौँ - अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग (बीबीएल) का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन्। तर उनको देश क्यानडा राखिएको छ। खकुरेलसँगै क्यानडाबाट २ खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ।
नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक बनेका भने होइनन्। उनले नेपालको तर्फबाटै नाम दर्ता गराएका थिए। तर गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको खकुरेलले बताएका छन्।
क्यानको अर्थ क्यानडाको क्यान बुझ्दा यस्तो भएको खकुरेलले बताएका छन्। ‘नेपाल क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ। क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ। नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो,’ सुबासले भने, ‘म क्यानडाको होइन।’
बीबीएलको १२औं संस्करण डिसेम्बर १३ मा सुरु हुँदैछ। पहिलो पटक विदेशी खेलाडीको ड्राफ्टमार्फत अनुबन्ध गर्न लागिएको हो। ड्राफ्ट यही अगष्ट २८ मा हुनेछ। नेपालका कप्तान सन्दीप लामिछानेको नाम पनि ड्राफ्टमा समावेश छ।