काठमाडौँ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्।
आज बिहीबार हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारुको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ।
आज करिब ४-५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप बिछ्याउन जाने क्रममा सामग्रीसहित चारजना मजदूर चढेको बकेट बिचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ। घटनामा परेका अन्य दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए।