काठमाडौँ - आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएको हो।
सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले मध्यरातसम्मको छलफलपछि चुनावी तालमेलको खाका तयार गरेका हुन्। तर समझदारीपत्रमा हस्ताक्षर भने भइनसकेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिए।
बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलका अनुसार छ महानगर मध्ये तीनवटा नेपाली काँग्रेसलाई र अन्य तीनवटा क्रमशः माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई दिने गरी छलफल केन्द्रित छ।
त्यसै गरी, ११ उपमहानगरपालिकामध्ये सात वटाको नेतृत्व नेपाली काँग्रेस, दुईवटा माओ वादी केन्द्र र एक–एकवटा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने गरी छलफल भएको उनले बताए। यो समाचार गोरखापत्र दैनिकमा छ।