ललितपुर- गत १३ र १४ माघमा दुई जनाको शव मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गाडिएको अवस्थामा फेला पारेको नेपाल प्रहरीले सो घटनासँग जोडिएका विषय पछ्याउँदै गर्दा ललितपुरमा अर्का एक व्यक्तिको शव फेला पारेको छ।
प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बसपार्कनजिकै हत्या गरेर ५ फिट गाडिएको अवस्थामा बिहीबार तेह्रथुमका मोहन लिम्बूको शव फेला पारेको हो। प्रहरीले मोरङदेखि ठेचोसम्मको घटनामा एकै समूहको संलग्नता रहेको आशंका गरेको छ।
मोरङको धनपालथान गाउँपालिका–२ उखुबारीमा दुई जनाको शव गाडिएको अवस्थामा भेटिएपछि अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले सिराहाका अनिल मण्डललाई पक्राउ गरेको थियो। मण्डलले बिहीबार नै प्रहरीसँगको बयानमा लिम्बूको शव गाडिएको स्थान प्रहरीलाई बताएका थिए।
त्यसपछि अपराध महाशाखा र मोरङ प्रहरीको टोली ठेचो पुगेर शव गाडिएको स्थान फेला पारेका हुन्। प्रहरीले शवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। ‘घरभित्रै शव गाड्ने प्रयास भएको रहेछ, शव गाड्न खाल्टो पनि खनेका रहेछन् तर ढलान फुटाउन नसकेपछि बाहिर लगरे गाडेर सिमेन्टले माथिबाट ढलान गरिदिएछन्, अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले भने।
प्रहरीका अनुसार शवलाई खाल्डोमा पुर्दा गलाउनका लागि नुनसमेत हालेको पाइएको छ। मण्डलले ललितपुर ठेचोस्थित एकतले सो घर भाडामा लिएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यस्तै, प्रहरी अनुसन्धानबाट मोरङमा दुई जनाको हत्याको घटना हुनुअघि नै ठेचोमा लिम्बूको हत्या गरिएको खुलेको छ। पक्राउ परेका मण्डलले सो बयान प्रहरीसमक्ष दिएका छन्।
गत २८ मंसिरसम्म मण्डल ठेसोमा देखिएको र सोही मिति आसपासमा लिम्बूको हत्या गरेपछि ५ पुस सुनसरी धरानका राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको र ७ पुसमा सप्तरीका शम्भु चौधरीको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। मृतक तीनै जना जग्गाको कारोबारमा संलग्न रहेका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जग्गाको कारोबारमा लेनदेनमा विवाद बढ्दै गएपछि उनीहरूबीच मनमुटाव भएर हत्याको अवस्थासम्म घटना अघि बढेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी बताउँछ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा हालसम्म मण्डलसहित तीन जनालाई पक्राउ गरेको छ। तर, अन्य दुई जनाका विषयमा भने खुलाइएको छैन।
हत्यामा भारतीय नागरिकको पनि संलग्नता रहेको आशंका छ। प्रहरीले उनीहरूको खोजी जारी राखेको छ। मण्डललाई भने अपराध महाशाखा टोलीले काठमाडौंबाट र अन्य दुई व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। प्रहरीले मण्डललाई पक्राउ गरेर बिहीबार नै मोरङ पठाएको थियो। आजको राजधानीदैनिकमा खबर छ।