काठमाडौँ - हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ॐनिका डंगोल सहितको सगरमाथा आरोहण टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन्।
काठमाडौं फर्किएपछि एअरलाइन्स्द्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए। उनले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो। ॐनिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्किएकी छिन् , हामी अत्यन्त खुसी छौं। यस परियोजनामा धेरै जोखिम र चुनौतीहरू थिए, र म हरेक दिन उहाँको सुरक्षाको लागि चिन्तित थिएँ। तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले यो परियोजना सफल हुनेछ भन्नेमा म विश्वस्त थिएँ। हिमालय एअरलाइन्स्का लागि यो वास्तवमै सुखद उपलब्धि हो। यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ।“
हिमालयले आफ्नो ऐतिहासिक परियोजना “हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट” नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको थियो। डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छिन्।