काठमाडौँ - नेपाली राष्ट्रिय महिला फुटबल टोलीको डिफेन्डर पुजा रानाले प्रशिक्षणका दौरान बोकेको चोटका कारण साफ च्याम्पियनसिप गुमाउने देखिएको छ।
आइतबार प्रशिक्षणका दौरान गोलरक्षकसँग ठोक्किन पुग्दा उनको बायाँ खुट्टामा चोट लागेको थियो। प्रारम्भिक परिक्षण अनुसार उनको खुट्टा भाँचिएको आशंका गरिएको छ। चोटको विस्तृत विवरण भोली थाहा हुने बुझिएको छ। चोटको प्रकृति हेर्दा उनले अर्को महिना हुने साफ च्याम्पियनसिप भने गुमाउने सम्भावना छ।
सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी पुजा निरन्तर टोलीमा रहेकी थिइन्। उनी नेपाल पुलिस क्लबको पहिलो रोजाइमा खेल्दै आएकी छिन्। उमेर समूहमा नेपालको कप्तानी समेत गरेकी उनले सन् २०१५ मा यू-१४ टोलीलाई दशरथ रंगशालामा खेल्दा नै कप्तानी गर्दै फाइनल पुर्याएकी थिइन्।
साफका लागि राष्ट्रिय टोलीको दोस्रो चरण छनोटमा हाल ३५ खेलाडी रहेका छन्। दशरथ रंगशालामा हुने प्रतियोगिता भदौ २१ देखि असोज ३ गतेसम्म चल्नेछ। नेपाल रहेको समूह बी मा भुटान र श्रीलंका रहेका छन्। आयोजक नेपालले उद्घाटन खेलमा भुटानको सामना गर्नेछ।
नेपालको ३५ सदस्यीय टोली:
गोलरक्षक - एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, कविता विक
डिफेन्डर - हिराकुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घा मगर, निशा थोकर, सिर्जना चेम्जोङ, विमला विक, समिक्षा घिमिरे
मिडफिल्डर - विमला चौधरी, मन्जली कुमारी योन्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुसुम खतिवडा
फरवार्ड - सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी