काठमाडौँ - करण केसीले पाँच विकेट लिनुका साथै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई ७ विकेटले हराएको छ।
करणले ३३ रन दिएर पाँच विकेट लिएपछि टेक्ससको ह्युस्टनस्थित मूसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो। कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेपछि नेपालले १६४ रनको लक्ष्य ३३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।
यससँगै जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने ओमान लक्ष्य पूरा हुन सकेन। ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा रहेको छ। १५ खेलबाट १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा रहेको छ। २३ खेलबाट २१ अंक जोडेको अमेरिका चौथो स्थानमा रहेको छ।
१६४ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका कुशल र आसिफले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए। जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट पहिलो विकेटका लागि बनेको सबैभन्दा ठुलो साझेदारी बन्यो। यसअघि कुशल र आसिफकै नाममा ६६ रनको कीर्तिमान थियो।
साथै, यो नेपालकै दोस्रो ठुलो साझेदारी हो। एकदिवसीय अन्तर्राष्ट्रियमा देब खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि पपुवा न्युगिनीविरुद्ध बनाएको १२९ रनको साझेदारी नै सबैभन्दा ठुलो हो।
कुशलले ७५ बलमा ५ चौकासहित ५६ रन र आसिफले ८६ बलमा ७ चौका र एक छक्कासहित ६२ रन बनाएका थिए। देब खानलले १० रन बनाउँदा रोहितकुमार पौडेलले अविजित २६ रन बनाए। दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे।
ओमानका फयाज बटले २ विकेट लिए भने खवार अलीले १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमान एक समय ४९-५ को स्थितिमा थियो। तर, कप्तान जीशन मक्सुद र सन्दीप गौडले सम्हालिएर खेलेपछि ओमान १६३ रनको सम्माजनक स्कोर बनाउन सफल भएको हो। मक्सुद र गौडले छैटौं विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए। दुईको साझेदारीलाई दीपेन्द्रसिंह ऐरीले तोडेका थिए।
दीपेन्द्रसिंहले मक्सुदलाई एलबीडब्यू आउट गरेका थिए। १०० बलमा ३ चौकासहित ५२ रन बनाएका मक्सुद पवेलियन फर्किदा ओमान १३२-६ को स्थितिमा थियो। लत्तगै गौडलाइ पनि करण केसीले कप्तान सन्दीप लामिछानेको हातबाट क्याच गराए। गौडले ९१ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए। ओमानका लागि ओपनर जतिन्दर सिंहले २३ रन जोडेका थिए। नसीम खुशीले १० रन बनाउँदा फयज बटले अविजित १३ रन बनाए।
नेपालका करण केसीले ९ ओभरमा ३३ रन दिएर ५ विकेट लिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो दोस्रो ५ विकेट हो। करण नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक ५ विकेट लिने दोस्रो खेलाडी बनेका छन्। करणले यसअघि अमेरिका भ्रमणमा ओमानविरुद्ध नै ५ विकेट लिएका थिए। उक्त खेलमा नेपाल १३ रनले पराजित भएको थियो।
यसअघि सन्दीप लामिछानेले २ पटक ५ विकेट लिएका छन्। करण र सन्दीपबाहेक सोमपाल कामीले पनि १ पटक ५ विकेट लिएका छन्। कप्तान सन्दीपले रातिको खेलमा ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १/१ विकेट लिए थिए।