काठमाडौं - पानी नपरे पनि काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रम जारी छ । यसै क्रममा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आइतबार बिहान ५ : ४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ । उनका अनुसार यो तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो । यसअघि शनिबार उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो । न्यूनतम तापक्रम जति घट्यो उति बिहान चिसो बढ्छ ।
मौसमविद् झाका अनुसार उपत्यकाको अधिकतम तापक्रम पनि बिस्तारै घट्ने क्रममा छ । आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने देखिएको उनले बताए । शनिबार काठमाडौंको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो ।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ ।
मौसमविद् झाका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकामा हल्का हुस्सु लागेको छ भने भिजिबिलिटी ४ किलोमिटर छ । दिउँसोतिर आकाशमा बादल विकास हुने भए पनि वर्षाको सम्भावना नरहेको मशाहाखाले जनाएको छ ।