काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संवादमा जोडिएका छन्। महराले व्यक्तिगत रुपमै विप्लवलाई भेटेर पार्टी एकतामा जोडिनेगरी छलफल अघि बढाएको बुझिएको छ।
महरा शिक्षक र विप्लव विद्यार्थी हुँदा भावनात्मक रूपमा नजिक भएकाले दुई नेताहरूले सघन रूपमा छलफल अघि बढाएका हुन्। उनीहरूबीच चारपटकभन्दा धेरै भेटेर पार्टी एकताका विषयमा छलफल गरिसकेका छन्। महराले नै पार्टी एकता प्रस्ताव गरेर विप्लवसँग छलफल गरेको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए। ‘महरा सर जीएस (महासचिव 'विप्लव')बीच चार पटक जति भेटघाट र छलफलसमेत भइसक्यो। पार्टी एकता टुंगिने गरी छलफल भएको होइन,’ पुनले भने, ‘महरा सरको सदासायता पार्टी एकता गरेर जीएसलाई महासचिव बनाउने योजनामा भएजस्तो आशय बुझिन्छ। त्यसपछि पार्टी नेतृत्वमा उहाँलाई ल्याउने जस्तो देखिन्छ।’
महासचिव विप्लवले पार्टी कार्यदिशा र नेतृत्वको विषयमा कुनै कम्प्रोमाइज नहुने स्पष्ट पारिसकेको पुनले बताए। ‘पार्टी कार्यदिशा दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद र पार्टी नेतृत्व जसको नीति उसैको नेतृत्व भन्नेछ,’ उनले भने, ‘यस्तो अवस्थामा पार्टी एकताका विषयमा माओवादी केन्द्रसँग छलफल हुनसक्छ। तर, पूर्वमाओवादीहरुको भावनात्मक र पदीय लेनदेनले मात्रै पार्टी एकता नटिक्ने एमालेसँगको एकताले पुष्टि भइसक्यो।’
महराले पूर्वमाओवादीहरुलाई एक ठाउँमा जोड्नेगरी छलफल थालेका छन्। परिणाम आएपछि मात्रै बोल्ने भन्दै यस विषयमा महरा 'गोपचुप' नै भएर बसेका छन्। तर, महरानिकट केन्द्रीय सदस्य हेमराज शर्मा‘डाइमण्ड’ले विप्लव नेतृत्वको नेकपासँग एकता गर्नेगरी पार्टी कमिटीले निर्णय नगरेको स्पष्ट पारे।