काठमाडौँ - नेपाली चलचित्र 'छक्कापञ्जा ४' को छायाङ्कन सुरु भएको छ। सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायाङ्कन सुरु गरिएको हो। दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको फिल्मलाई हेमराज बि.सी.ले निर्देशन गर्नेछन्।
आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना रहेको छ।सञ्चारकर्मीहरूसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताएका छन्। उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताएका छन्।
त्यस्तै कलाकार जितु नेपालले पनि दीपकराज गिरीसँग कुनै झगडा नभई समय समयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताएका छन्। कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताएका छन्।
उनले आजभन्दा २ महिना अघि नै सुरु गर्नुपर्ने भएपनि कथावस्तु सक्न गाह्रो भएको बताएका हुन्। फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ।