काठमाडौँ - डेबिड वार्नर र मिचेल मार्शले १४४ रनको साझेदारी गरेपछि दिल्ली क्यापिटल्सले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ।
मुम्बईस्थित डा. डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो। १६१ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।
जितसँगै दिल्लीले १२ खेलबाट १२ अंक जोडेको छ। दिल्ली पाँचौं स्थानमा रहेकाे छ। समान खेलबाट १४ अंक जोडेको राजस्थान भने तेस्रो स्थानमा रहेकाे छ। नवप्रवेशी टिम गुजरात टाइटन्स भने १८ अंकका साथ शीर्ष स्थानमा छ। लखनउ सुपर जायन्ट १६ अंकका साथ दोस्रो स्थानमा छ।
राजस्थानका लागि रविचन्द्रन आश्विनले सबैभन्दा धेरै ५० रन बनाए । देबदत्त प्याडिकलले ४८ रन बनाए भने यशस्वी जैशवालले १९ रन बनाएका थिए । रसी भान डेर डुसानले अविजित १२ रन बनाए।
दिल्लीका चेतन सकारिया, एनरिच नोर्टजे, र मिचेल मार्शले समान दुई विकेट लिए।
१६१ रनको लक्ष्य पूरा गर्ने क्रममा दिल्लीका मार्शले ६२ बलमा पाँच चौका र सात छक्कासहित ८९ रन बनाएका थिए। उनले दोस्रो विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए। डेबिड वार्नरले अविजित ५२ रन बनाए। रिशभ पन्तले अविजित १३ रन बनाएका थिए।
राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले एक/एक विकेट लिएका थिए।