बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर फोरमा

काठमाडौँ - स्पिनर राशिद खान र मुजिब उर रहमानको उत्कृष्ट बलिङमा अफगानिस्तानले टि-२० एसिया कप २०२२ मा बंगलादेशलाई ७ विकेटले हराउँदै सुपर फोरमा स्थान बनाएको छ। समूह बी बाट अपराजित रहँदै अफगानिस्तान सुपर फोरमा पुग्ने पहिलो टोली बनेको हो।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। अफगानिस्तानका नाजिबउल्लाह जद्रान १७ बलमा १ चौका र ६ छक्कासहित ४३ रनमा अविजित रहेका थिए। इब्राहिम जद्रान ४१ बलमा ४ चौकासहित ४२ रनमा अविजित रहेका थिए।

ओपनर हज्रतुल्लाह जजाई २३, रमानउल्लाह गुरबाज ११ र मोहम्मद नाबी ८ रनमा आउट भएका थिए। बंगलादेशका सकिब अल हसन, मोसाद्देक हसन र मोहम्मद सैफुद्दिनले १/१ विकेट लिएका थिए।

त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो। बंगलादेशका मोसाद्देक हसनले ३१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहेका थिए। महमुदूल्लाह रियाद २५, अफिफ हुसैन १२ र माहेदी हसन १४ रनमा आउट भएका थिए।

अफगानिस्तानका राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए। मुजिब उर रहमानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका थिए।

समूह बी बाट अब श्रीलंका र बंगलादेश मध्य एक सुपर फोरमा पुग्नेछन्। श्रीलंकाको नेटरनरेट माइनस ५.१७६ हुँदा विशाल जित निकाल्नुपर्ने हुन्छ। यता समूह ए मा भारत, पाकिस्तान र हङकङ छन्। पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो। आज भारत र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×