काठमाडौँ - नेपालले आज (शुक्रबार) केन्यासँग पहिलो एकदिवसीय क्रिकेट खेल्दैछ। नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोलीको केन्याको सामना गर्न लागेको हो। नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ।
केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ। नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ। नेपालले यस अघि केन्याविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो।
केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ। नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन्। सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन्।
नेपालले घरेलु टोलीसँगको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेल्नेछ।