नुवाकोट - ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिता नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा शनिबार सम्पन्न भएको छ।
नयाँ खेलाडीको उत्पादन, दौडको महत्व तथा राष्ट्रियस्तरका खेलाडीको क्षमता अभिवृद्धि गराई खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेलकोटगढी नगरपालिका वडा नं ५ द्वारा आयोजित प्रतियोगितामा यस वर्ष विभिन्न सात विधामा प्रतिस्पर्धा गराइएको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीले सहभागिता जनाउन पाउने कोल्पुटारबाट माझगाउँ हुँदै पुनः कोल्पुटार पुग्ने १३ दशमलव चार किमी दूरीको पुरुषतर्फको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलका राजेन्द्र तामाङ र महिलातर्फ निक्की नेम्वाङ लिम्बू प्रथम भए। निर्धारित दूरी तामाङले ५७ मिनेटमा र लिम्बूले एक घण्टा २३ मिनेटमा पूरा गरे। उक्त दूरीको भेट्रान खुलातर्फ धर्म महर्जन र स्थानीय खुलातर्फ सुमन श्रेष्ठ प्रथम भए।
यसैगरी ४.५ किमी दौडतर्फ देशभरबाट सहभागी हुन पाउने जुनियर छात्रामा सरस्वती बोहोरा, १६ वर्षमुनिका स्थानीय विद्यालयको छात्रतर्फ पवन राई र छात्रातर्फ सपना श्रेष्ठ, स्थानीय ४५ वर्षमाथिका स्थानीय बा समूह (पुरुष)तर्फ राजेन्द्रप्रसाद नेपाल र स्थानीय आमा समूहतर्फ कमला श्रेष्ठ प्रथम भए।
प्रतियोगितामा लामो दूरीतर्फ प्रथमलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रोलाई रु पाँच हजार एवं छोटो दूरीतर्फ प्रथमलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रोलाई रु पाच हजारसहित प्रमाणपत्र बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले प्रदान गरे।
नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीसहित २२ जनाको व्यावस्थापकीय टिमले प्रतियोगितालाई तोकिएको मापदण्डमा रहेर सञ्चालन गरेको थियो। नगरप्रमुख खनालले प्रतियोगिताको दूरी र पुरस्कार राशि बढाइ राष्ट्रियस्तरको उत्कृष्ट प्रतियोगिताका रूपमा ‘झिल्टुङ क्रसकन्ट्री’ चिनाउने प्रतिबद्धता जनाए।
“आवश्यक बजेटको प्रबन्धसहित नगरस्तरीय पर्वका रूपमा प्रतियोगिता सञ्चालनमा ल्याइने छ”, उनले भने, “नगरपालिकाले वार्षिक क्यालेण्डरमा समावेश गरेर हरेक माघ महिनाको दोस्रो शनिबार प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिनेछ।” उक्त प्रतियोगिता छ वर्षअघि स्थानीय समाजसेवी मोहन नेपालको अग्रसरमा सुरु गरिएको थियो। सो समयमा स्थानीय युवा क्लब, महादेव माध्यामिक विद्यालय हुँदै पछिल्लो वर्षमा वडा कार्यालयको अग्रसरमा सरकारीस्तरबाट सञ्चालनमा ल्याइएको वडा नं ५ का वडाध्यक्ष अनन्तराम नेपालले बताए।