काठमाडौँ - हलिउड फिल्म निर्देशक क्वान्टिन टेरेन्टिनोले आफ्नो फिल्मी जीवनमा निर्देशनको संख्या १० पुगेपछि सन्यास लिने घोषणा गरेका छन्। यसकारण पनि उनको फिल्म प्रतिक्षित हुने गरेको छ।
उनको पछिल्लो नवौँ फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ सुटिङअघि नै यस्तो घोषणा भएको थियो। यसकारण पनि उनको अन्तिम तथा १० औँ फिल्मको प्रतीक्षामा दर्शक रहेका छन्।
टेरेन्टिनाको पछिल्ला ३ फिल्म इतिहाससँग सम्बन्धित थिए। त्यसैले अब अन्तिम फिल्म अहिलेसम्म काम नगरेको फरक विधामा हुन सक्ने अनुमान उनका फ्यानले गरिरहेका छन्।
टेरेन्टिनोले आफू उचाइमा रहँदा नै फिल्म निर्देशनबाट पाखा लाग्ने निर्णय गर्नु राम्रो रहेकाले यस्तो निर्णय गरेको बताएका छन्। असफल हुन थालेपछि सन्यास लिँदा फिल्ममेकरलाई सजिलो महसुस नहुने उनको धारणा रहेको छ।
अभिनय हुँदै निर्देशनको करिअरको सुरु गरेका क्वान्टिनले ‘रिजोर्भोयर डग्स’बाट निर्देशकको यात्रा सुरु गरेका थिए। यो फिल्मले व्यापारिक सफलतासँगै कालान्तरमा ‘कल्ट क्लासिक’को स्ट्याटस पाएको थियो।