बालाजीधाममा औषधालय

बागलुङ । यहाँको एक धामले भने धार्मिक गतिविधि संगै शालग्रामको संरक्षण, संस्कृत विद्यालय र स्वास्थ्य सेवालाई एक साथ अगाडी बढाएको छ । मुठ्ठी दानबाट चल्दै आएको धामले विभिन्न व्यक्तिको सहयोगमा औषधालय बनाएको हो ।

बागलुङको कुडुँलेमा रहेको तिरुपती बालाजीधामले सर्वसाधरणको स्वास्थ्य सेवाका लागि धाममै औषधालयको सेवा दिन थालेको छ । तिरुपती बालाजीधाममा लामो समयदेखि मुक्तिनाथ वेद विद्याश्रम अन्तर्गत संस्कृतको अध्यापन हुँदै आएको थियो । पछि धामकै नेतृत्वमा श्रीधरआचार्य शालग्राम संग्राहलय निर्माण भएको थियो । शालग्राम संग्राहलय निर्माण भएको दुई वर्ष पछि अहिले श्रीधरआचार्य औषधालय स्थापना गरिएको छ ।

मन्दिरको आन्तरिक स्रोत तथा स्थानीय युवाहरुको सहयोगमा बागलुङ नगरपालिका–४ कुडुँले स्थित तिरुपती बालाजीधाम र शालग्राम संग्रहालयमा श्रीधराचार्य औषधालय निर्माण गरी सेवा दिन थालिएको तिरुपती बालाजी धाम तथा श्रीधर आचार्य शालग्राम संग्राहलयका अध्यक्ष ऋषि प्रपन्नचार्यले जानकारी दिए ।

“विशेषगरी धार्मिक संस्थामै औषधी उपचार भएको पाइदैन यो नितान्त नमूना हो, बालाजीधामको अग्रसरता र यसले नै सञ्चालन गर्ने गरी औषधालय निर्माण भएको छ” प्रपन्नचार्यले भने “कुडुँले गाउँमा सरकारी स्तरको स्वास्थ्य सेवा समेत छैन, सिटामोल खरिदका लागि समेत स्थानीयलाई समस्या भएपछि गुरुको नाममा औषधालय सञ्चालनमा ल्याइको छ, अहिले एक जना स्वास्थ्यकर्मी राखेर सेवा दिन थालिसकेका छौं ।”

गुरुको नाममा एउटा स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने लामो समयदेखिको उद्देश्य पुरा भएको र यसलाई थप विस्तार र स्तरीय बनाउदै लैजाने प्रपन्नचार्यको भनाई रहेको छ । धाममा औषधालय स्थापना गरेर सेवा दिनु भनेको नमूना नै हो ।

औषधालयमा प्राथमिक उपचारसंगै स्टिम वाफबाट उपचार विधि गरिनेछ । श्रीधरआचार्य फाउण्डेसन मार्फत औषधालय निर्माण गरेर सञ्चालनको जिम्मा तिरुपती बालाजीधामलाई दिइनेछ । श्रीधरआचार्य औषधालय निर्माण गर्नका लागि स्थानीय युवाहरु जुन विदेशमा बस्दै आएका छन् उनीहरुबाट ११ लाख ४० हजार रुपैया सहयोग भएको थियो । औषधालयको भवन निर्माणमा मात्रै ८ लाख रुपैया खर्च भइरहेको छ ।

औषधालयमा अन्य उपकरण खरिदको काम समेत भइरहेको छ । छिट्टै बाफको माध्यमबाट उपचार गर्ने प्रविधि जडान हुँदैछ । २५ लाख रुपैया बराबरको कोष बनाएर औषधालय सञ्चालन गरिने लक्ष्य बालाजीधामको छ ।

शालग्राम संग्राहलय भ्रमणमा आएका धार्मिक पर्यटक, गाउँ, विद्यार्थी र बालविकास केन्द्रलाई औषधालय निर्माणपछि सहज हुनेछ । “विशेष गरी कोरोना लागेपछि गाउँमा औषधालयको खाँचो देखिएको थियो” प्रपन्नाचार्यले भने “अहिले औषधालयले सेवा दिन थालेको छ, कोरोना जस्ता महामारीमा सहज हुनेछ भनेर औषधालय निर्माण गरेका छौं ।”

औषधालयमा स्थानीय डोलेन्द्र आचार्यले ४३ हजारको औषधी सहयोग गरेका छन् । कुनै सरकारी स्तरको नभएपछि मुठ्ठीदानबाट भएपनि जनताको सेवामा औषधालय सञ्चालन भएको छ ।

औषधालय निर्माणका लागि कुडुँलेका मदन केसीबाट एक लाख, यादव सापकोटाबाट एक लाख एक हजार, देवराज सापकोटाबाट एक लाख एक हजार, टेकनारायण पौडेलबाट एक लाख, गंगाराम सापकोटाबाट एक लाख, प्रकाश सापकोटाबाट एक लाख, रामजी सापकोटाबाट एक लाख, कृष्ण प्रसाद सापकोटाबाट एक लाख, लोकनाथ सापकोटा एक लाख, सालिकराम सापकोटाबाट एक लाख, खिमलाल सापकोटाबाट एक लाख र बालकृष्ण कंडेलबाट ४० हजार सहयोग गरिएको थियो । औषधालयमा आयुर्वेद, प्राकृतिक तथा आधुनिक चिकित्सा सहितको उपचार गरिने भएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×