टी-२० विश्वकपमा पाकिस्तानको जित

काठमाडौँ - टी-२० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि सहज जित निकालेको छ। अस्ट्रेलियाको पर्थ स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि ६ विकेटको सहज जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि कोलिन एकरमेनले सर्वाधिक २७ रन बनाउँदा कप्तान स्कट एडवर्ड्सले १५ रन बनाएका थिए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा नेदरल्याण्ड्स ९१ रनमा समेटिन पुग्यो। बलिङतर्फ शादब खानले सर्वाधिक ३ विकेट लिँदा मोहम्मद वसीमले २ तथा शाहीन शाह अफ्रीदी, नसीम शाह र हरिस रउफले समान १ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाउँदा फकर जमानले २० तथा सान मसुदले १२ रन बनाए। बलिङतर्फ नेदरल्याण्ड्सका ब्रान्डोन ग्लोबरले २ तथा पउल भान मीकेरेनले १ विकेट लिएका थिए।

समूह 'बी'मा लगातार २ हार व्यहोरेको पाकिस्तानले तेस्रो खेलमा आएर निकालेको पहिलो जित हो। यसअघिका खेलमा पाकिस्तान भारत र जिम्बावेसँग पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×