काठमाडौँ - घरेलु टोली इंग्ल्याण्ड महिला युरोकपको फाइनल प्रवेश गरेको छ। गएराति ब्रामल लेनमा भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि ४-० को शानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमामा प्रवेश गरेको हो।
इंग्ल्याण्डलाई जित दिलाउन बेथ मिड, लुसी ब्रोन्ज, एलेसिया रूसो र फ्रान किर्बीले १/१ गोल गरे। खेलको ३४ औं मिनेटमा मिडको गोलमार्फत इंल्याण्डले अग्रता लिएको थियो। ४८ औं मिनेटमा ब्रोन्जले टोलीको अग्रता दोब्बर बनाएकी थिइन्।
६८ औं मिनेटमा रुसोले इग्ल्याण्डका लागि तेस्रो गोल गरेकी थिइन्। ७६ औं मिनेटमा किर्बीले गोल गरेपछि घरेलु टोली ४-० को शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो।
पहिलो उपाधिको खोजीमा रहेको इंग्ल्याण्डले तेस्रोपटक युरोकप फाइनलमा स्थान बनाएको हो। यसअघि उसले १९८४ र २००९ को फाइनल खेलेको थियो।
अब इंग्ल्याण्डले उपाधिका लागि जर्मनी र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।