सुर्खेत । शनिबार दिउँसो कर्णालीमा ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी पर्दा धनजनको क्षति भएको छ । चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु समेत भएको छ ।
दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार चट्याङ लागेर घाइते कँडेलको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । तर, उनको बाटोमै मृत्यु भइसकेको प्रहरीको भनाइ छ । त्यहाँ एउटा बाख्रो पनि मरेको छ ।
हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्याएको छ । टिप्नै लागेको गहुँ बालीमा असिनाले क्षति पुर्याउँदा किसानहरू भने चिन्तित बनेका छन् । वीरेन्द्रनगर, जाजरकोट, रुकुम पश्चिम लगाएतका ठाउँमा घर टहरा हावा हुरीले उडाएको छ ।