काठमाडौँ - तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गाैलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ। दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार रु. एक लाख ४६ हजार ६३५ सहयोग गरिएको हो।
चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उहाँका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो। व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा सङ्कलन गरेर ल्याइएको रकम थापाले पीडित परिवारलाई उपलब्ध गराएका हुन्। सोही अवसरमा साउदी अरबबाट सङ्कलित रु. ३० हजारसमेत पीडितलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो। आर्थिक अवस्था कमजोरीका कारण मिर्गाैला प्रत्यारोपण गर्न नसकेका थापा उपचारको खोजीमा भौँतारिँदै आएका छन्।
चिकित्सकले रु. १२ देखि १३ लाख उपचारमा खर्च लाग्ने जनाएको छन्। थापाका दुई छोरा छन्। अहिलेसम्म उपचार गर्दा रु. सात लाखभन्दा बढी रकम खर्च भइसकेको पीडित थापाले जानकारी दिए। हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र एक पटकमा रु. साढे सात हजार खर्च हुने उनले बताए। भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गरेका थापा मिर्गाैला फेल भएपछि नेपाल फर्किएका हुन्।