काठमाडौँ - शुक्रबारदेखि नेपाली नाटकघरमा चार नयाँ नाटकको मञ्चन सुरु हुँदैछ। मण्डला नाटकघरमा ‘२४ मा १२’ नाटक मञ्चन सुरु हुँदैछ। संगीत सापकोटा निर्देशित यो नाटकलाई उमेश सुनामले लेखेका हुन्। भदौ १७ गतेदेखि मञ्चन हुने यो नाटक सोमबार बाहेक असोज ९ गतेसम्म चल्नेछ।
गन्धर्व थिएटर गैरापाटन पोखरामा ‘हिउँको पृथ्वी’ नाटक मञ्चन हुँदैछ। काठमाडौंमा नाटक सफल भएपछि शुक्रबारदेखि यो सन्देशमूलक नाटकले मोफसल यात्रा थालेको हो।
जलवायु संकटको कथा पेश गर्ने यो नाटकलाई घिमिरे युवराज र अमजद प्रवेजले निर्देशन गरेका हुन्। शिल्पी थिएटरको प्रस्तुतिमा पोखरामा नाटक मञ्चन हुन लागेको हो।
काठमाडौंको पुरानो घर नाटकघरमा शुक्रबारदेखि नयाँ नाटक ‘एन इन्सपेक्टर कल्स’ समेत मञ्चन हुँदैछ। डिटेक्टिभ जनरामा आधारित यो नाटक जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो।
रातोपुलस्थित ओजस थिएटरमा पनि शुक्रबारदेखि नयाँ नाटक ‘असुर’को मञ्चन सुरु भएको छ। विवेक न्यौपाने घने निर्देशित नाटकले शक्ति प्राप्तिको लागि भोको व्यक्तिको कथा भन्छ।
कौशी थिएटरमा नयाँ नाटक ‘घुमघामको घुमघाम’ मञ्चन सुरु भएको छ। मंगलबारबाहेक हरेक दिन टेकुस्थित यो थिएटरमा नाटक मञ्चन हुने जनाइएको छ।