काठमाडौँ - मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्द आह्वान गरेका छन्। सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन्। चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ। सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन्।