काठमाडौँ - कतारमा हालै सम्पन्न विश्वकप फुटबल २०२२ मा चौथो स्थान हासिल गरेको मोरक्कोलाई स्वदेशमा राजकीय सम्मान गरिएको छ। हजारौं दर्शकका माझ विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको टोलीका सदस्य र प्रशिक्षकलाई त्यहाँका राजाले राजप्रसादमा भव्य राजकीय स्वागत गरेका हुन्।
अफ्रिका महादेशबाट र सिंगो अरब क्षेत्रबाट नै पहिलो पटक मोरक्कोले विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको थियो। अपराजित रहँदै अन्तिम ४ सम्म पुगेको मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो।
तेस्रो स्थानका लागि भएको खेलमा भने क्रोयशियासँग पराजित भएको थियो। राबाटस्थित राजप्रासादमा आयोजित भव्य समारोहमा त्यहाँका राजा मोहम्मद छैठौंले सम्मान अर्पण गरेका हुन्। कतारबाट घर फर्किएको मोरक्कोको टोलीलाई हजारौं घरेलु समर्थकले पनि सम्मान व्यक्त गरेका छन्।