बाबरको सतकमा इंग्ल्यान्डमाथि पाकिस्तानको कीर्तिमानी जित

काठमाडौँ - घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको ७ खेलको टी-२० सिरिजको दोस्रो खेलमा शानदार जित हात पारेको छ। कराँचीमा भएको दोस्रो खेल पाकिस्तानले १० विकेटले जितेको हो। यससँगै सिरिज १-१ को अवस्थामा पुगेको छ।

जितका लागि इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा कुनै पनि विकेट नगुमाई पुरा गर्‍यो। यससँगै पाकिस्तान कुनै पनि विकेट नगुमाएर सबैभन्दा ठूलो लक्ष्य पुरा गर्ने टिम बनेको छ।

पाकिस्तानलाई जित दिलाउन कप्तान बाबर आजमले अविजित १ सय १० रनको योगदान गरेका थिए। ६२ बलमा शतक पुरा गरेका बाबरले ६६ बल खेल्दा ११ चौका र ५ छक्का प्रहार गरेका थिए। यता मोहम्मद रिजवानले ५१ बलमा ८८ रन बनाउँदा ५ चौका र ४ छक्का हिर्काएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो। उसका लागि कप्तान मोइन अलीले अविजित ५५ रन तथा बेन डकेटले ४३ रन जोडेका थिए।

पाकिस्तानका लागि शाहनवाज दहानी र हरिस राउफले समान २/२ विकेट हात पारेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×