फ्रान्सेली सिनेमा ‘दिग्वी’ काठमाडौं र सगरमाथामा छायांकन हुने

काठमाडौँ - फ्रान्सेली सिनेमा ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ। छायांकनस्थल खोज्दै नेपाल आइपुगेको सिनेमाका निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो।

फ्रान्सेली भाषामा निर्माण हुने सिनेमाको छायांकन काठमाडौं र सगरमाथाको नाम्चेआसपासमा हुने निर्देशक एलनले बताएका छन्। रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक सिमोनले ९० प्रतिशत छायांकन नेपाल र बाँकी फ्रान्समा गर्ने बताएका छन्। ३५ दिनको छायांकन तालिका राखिएको सिनेमामा नेपाली कलाकार पनि हुने बताइएको छ।

सन् २०१५ को महाभूकम्पका वेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेको सिमोनले त्यतिवेलादेखि नै नेपालमा सिनेमाको छायांकन गर्ने योजना बनाएको बताए। ‘आध्यात्मिकताको खोजी गर्न धेरै विदेशी नेपाल आउँछन्। म पनि आनन्द र खुसी दिने एउटा सिनेमा बनाउन आएको छु’, उनले भने। 

कोरोना महामारीको कारण नेपालसहित विश्व फिल्ममा संकट आएको बताउँदै निर्देशक सिमोनले छायांकन हुन लागेको यो सिनेमाले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सघाउने बताएका छन्। उनका अनुसार सिनेमाले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ। पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारंगीवादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन सिनेमाको कथावस्तु रहेको उनको भनाइ रहेको छ।

सिनेमाको नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रा.लि.का प्रमुख दिग्विजय भारती र सुरेश अधिकारीले फिल्ममा नेपाली टोली पनि हुने बताएका हुन्। मार्चदेखि काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा सिनेमाको छायांकन गरिने उनले जनाएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×