काठमाडौँ । आउँदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्याइने भएको छ।
गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो। तेमाल वृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा करिब एक वर्ष पछि धकेलिएको हो। उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पुर्याउने गरी आयोजनाको मर्मतलयातका काम भइरहको जनाएको छ।
“आउँदो चैतभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यकासाथ काम भइरहेको छ” समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने। उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ। आयोजनाको ९८ प्रतिशत काम सकिएको जनाइएको छ। हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए। उनका अनुसार १२ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्याङ्कीमा परीक्षणको काम भइरहेको छ। साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ।
लामाका अनुसार उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध हुनेछ। लिफ्टिङ प्रविधिबाट यो खानेपानी आयोजना सञ्चालन गरिनेछ। यसको मुहान सुनकोशी नदीकिनारमा छ। यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीमा कटान सुरु गरेको थियो।