काठमाडौँ - प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले ‘मिस लिटिल आइडल २०२२’ को खोजी सुरु गरेको छ।
प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखि १३ वर्ष उमेर समूहका बालिका सहभागी हुन पाउने जानकारी दिएका छन्। ‘बालिकामा निहित प्रतिभा प्रस्फुटन, आत्मविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न यसले मद्दत पुर्याउने छ’, राईले भने, ‘प्रतियोगिता २८ साउनमा सांस्कृतिक संस्थानमा भव्य रूपमा आयोजना हुने छ।’
प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई दाहालले प्रतियोगितामा परिचय राउन्ड, कल्चरल राउन्ड, स्पिच राउन्ड, टप १५ राउन्ड र टप ७ राउन्ड गरी ५ चरणमा प्रतिस्पर्धा गराइने जानकारी दिएकी छिन्।
‘शैक्षिक कोर्षमा नसमेटिएका तर समयअनुसार आवश्यक ज्ञान दिन र छात्राहरूमा निहित क्षमता अभिवृद्धि गर्न प्रतियोगिता राम्रो प्लेटफर्म सावित भएको छ’, उपाध्यक्ष राईले भनिन्, ‘हरेक विद्यार्थीमा केही न केही क्षमता हुन्छ। त्यस्तो क्षमता देखाउन, आत्माविश्वास बढाउन यस्तो प्रतियोगिता चाहिन्छ। यो समयको माग हो।’
प्याब्सन काठमाडौंले उपाध्यक्ष रीता राईको संयोजकत्वमा सूर्य भण्डारी, अनिल पराजुली, कृष्ण भण्डारी र जेसिका चेम्जोङ सम्मिलित ५ सदस्यीय कार्यक्रम संयोजन समिति गठन गरेको छ। आयोजकका अनुसार विद्यालयको सिफारिसमा प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा लगभग ६० जना छात्राहरूलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने भएको छ।
७ साउनदेखि प्रशिक्षण सुरु गरी २८ साउनमा अन्तिम प्रतिस्पर्धा हुने छ। प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट १/१ वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ।