नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न कमल थापाको माग

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनःस्थापना हुन नसक्ने बताएका छन्।

थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरुबीचको बृहत मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्न सकिने बताए। २०३ औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार पार्टीले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे।

कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सके मात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाइ थियो। उनले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रुपमा हेर्न नहुने पनि बताए।

थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राजकीय रुपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न पनि सरकारसँग माग गरे।

‘सरकारसँग के पनि आग्रह गर्न चाहन्छु भने राष्ट्र निर्माताको सम्मान गर्दै नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्ने र साथसाथै केवल सार्वजनिक बिदा दिने मात्रै होइन, भव्य रुपमा राष्ट्रिय एकता दिवस सरकारी स्तरबाटै पनि मनाइनु पर्दछ भन्ने मेरो आग्रह छ,’ उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×