छुरा प्रहारबाट घाइते लेखक सल्मान रुस्दीको अवस्था स्थिर, आँखा गुम्न सक्ने

काठमाडौँ - अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा छुरा प्रहार गरिएका चर्चित लेखक सलमान रुस्दीको अवस्था स्थिर रहेको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुस्दीले आँखा गुमाउन सक्ने र उनको कलेजोमा पनि चोट लागेको बताइएको छ।

साहित्यिक कार्यक्रममा भाग लिइरहेका रुस्दीलाई एक व्यक्तिले साउन २७ गते मञ्चमा उक्लिएर चक्कु प्रहार गरेका थिए। ७५ वर्षीय रुस्दीलाई छुरा प्रहार गर्ने न्यू जर्सीका २४ वर्षीय हादी मतार रहेको प्रहरीले जनाएको छ। रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको थियो। हमला लगत्तै उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो।

सन् १९८९ मा ‘द सेटनिक भर्सेस’ पुस्तक प्रकाशित भएको ६ महीनापछि नै इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की आएको थियो। त्यसयता उनले लगातार खम्की खेपिरहेका थिए। लेखक रुस्दी भारतको मुम्बईमा जन्मेका थिए। मुम्बईबाट बेलायत गएका उनले त्यही अध्ययन गरे र त्यहीँका नागरिक भएका थिए।

रुस्दीले आफ्नो उपन्यास ‘द सेटनिक भर्सेस’ को मुख्य विषयवस्तु आप्रवासी अनुभवलाई बनाएका छन्। तर, केही धार्मिक अतिवादीहरू पुस्तकमा पैगम्बर मोहम्मदबारे लेखिएका अंश र कुरानमाथिका टिप्पणीबाट आहत भएका छन्। यो पुस्तक सबैभन्दा पहिले भारतमै प्रतिबन्धमा परेको थियो। त्यसपछि अन्य इस्लामिक मुलुकले पनि प्रतिबन्ध लगाएका थिए।

इरानका आयातोल्लाह रुहाल्लाह खामेनेईले उनी विरुद्ध फतवा पनि जारी गरेका थिए। फतवामा उक्त पुस्तक प्रकाशित गर्ने काममा संलग्न सबैको हत्या गर्न भनिएको थियो र हत्यामा संलग्न हुने सबैलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो। फतवा कहिले पनि औपचारिक रूपमा फिर्ता लिइएको थिएन। व्यापक विरोध भएपछि लेखक रुस्दीले मुश्लिमसँग क्षमा पनि मागेका थिए।

उनको दोस्रो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ भारतबारे थियो। त्यस्तै, अर्को उपन्यास ‘शेम’ पाकिस्तानबारे थियो। त्यसपछि उनले ‘द ज्यागुअर स्माइल’ लेखेका थिए, जुन निकारागुआको यात्रा विवरण थियो। उनका एक दर्जनभन्दा बढी पुस्तक चर्चित छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×