काठमाडौँ - बंगलादेशमा जारी चौथो संस्करणको महिला साफ यू-१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ। खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ।
नेपाल भुटानलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। यसअघि नेपालले भुटानलाई ७-० र बंगलादेशलाई १-० ले पराजित गरेको थियो। भुटान पहिलो जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ। प्रतियोगिताबाट बाहिरिसकेको उसले यसअघि नेपालसँग ७-० र घरेलु टोलीसँग ८-० तथा ९-० को फराकिलो हार व्यहोरेको थियो।
यस प्रतियोगिताअघि यी २ टोलीले ३ पटक एकअर्काको समान गरेका थिए। जसमा भुटानले १ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ।
२०१७ को पहिलो भेटमा दुवै टोलीले १-१ को बराबरी खेलेका थिए। २०१८ मा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पेनाल्टी सुट आउटमा ४-३ ले पराजित भएको थियो।निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो। २०१९ को पछिल्लो भेटमा पनि यी दुईले १-१को बराबरी खेलेका थिए।
यदि नेपालले आज जित वा बराबरीको नजिता निकाले प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग बराबरी खेल पनि उपाधि हात पार्नेछ। तर, हारेको खण्डमा भने नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नैपर्ने दबाब हुनेछ।