काठमाडौँ - आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पुर्याइने भएको छ।
सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पुर्याउन लागेको हो। स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा प्रकाश बुढाथोकीले सातवटै प्रदेशमा यससम्बन्धी तालिम सञ्चालन गरेर सेवालाई तल्लो स्तरसम्म पुर्याउन लागिएको बताए। उनले भने, “आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यमा सर्वसाधारणको ठूलो खर्च भएको छ, जनको समेत क्षति बढ्दै गएको छ।” कोही पनि यो सेवाबाट बञ्चित हुन नपरोस् भनेर तालिम अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
विगत तीन वर्षदेखि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा राखेर काम हुँदै आएको डा. बुढाथोकीले जानकारी दिए। सबै प्रदेशमा तालिम सञ्चालन गरेपछि स्वास्थ्यचौकीसम्म यो सेवा विस्तार हुने उनले बताए। उनले भने, “स्वास्थ्यचौकीमा सम्भव हुने उपचार हुन्छ, नहुने माथिल्लो स्वास्थ्य संस्थामा सिफारिस हुन्छ।” विगत दुई वर्षमा प्रदेशहरूमा नीति, निर्माण र अन्य कामले गर्दा अलमल हुँदा बजेटसमेत फ्रिज भएको उनको भनाइ छ।
यही अभियानअन्तर्गत मधेस प्रदेशले चितवनमा तालिमको आयोजना गरेको छ। मधेस प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख शरदचन्द्र न्यौपानेका अनुसार एक हप्ता अगाडि १४ स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ भने थप १४ जनाको तालिम भइरहेको छ। तालिममा मधेस प्रदेशका स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन्। आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिममा भरतपुर अस्पतालका डा. अजय न्यौपानेले मुख स्वास्थ्य, डा. सुमित पाण्डेले आँखा, डा. रमेश भण्डारीले नाक, कान र घाँटीसम्बन्धी प्रशिक्षण दिइरहेका छन्।
प्रमुख न्यौपानेले मधेस प्रदेशमा प्रशिक्षक नभएपछि चितवनमा ल्याएर तालिम दिइएको जानकारी दिए।