काठमाडौँ - कोरोना महामारीपछि विदेशमा ठूला स्टारका फिल्म समेत चलेनन्। उनीहरुले निर्मातालाई बचाउनुपर्ने भन्दै आफ्नो पारिश्रमिक समेत फिर्ता गरे।
यही शैलीलाई नेपालमा अभिनेता पुष्प खड्काले पछ्याए। राम्रो समीक्षा प्राप्त भए पनि उनको पछिल्लो फिल्म ‘कृष्णलीला’ बक्स अफिसमा चलेन। तर पुष्पले इमान्दारिता प्रदर्शन गरे। आफूले पाएको पारिश्रमिक फिर्ता गर्ने घोषणा उनले त्यसबेला गरे। उनै पुष्प अभिनित पछिल्लो फिल्म ‘तिम्रो मेरो साथ’को बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुष्पले पारिश्रमिक फिर्ता गर्ने सन्दर्भका प्रश्नको सामना गरे।
आफूले निर्मातासँग पारिश्रमिकको केही रकम लिन बाँकी भएकाले त्यसको ३३ प्रतिशत फिर्ता गर्ने प्रतिबद्धता पुष्पले पुनः दोहोर्याए। यसअघि नेपालमा कुनै कलाकारले फिल्म असफल भएमा पारिश्रमिक फिर्ता गर्ने कुरा गरेका छैनन्।
कोरोना महामारीका बेला लागु गरिएको लकडाउनमा आफू काम नपाएर बसिरहेको बेला ‘कृष्णलीला’का निर्माताले गरेको प्रस्ताव सम्झिएर आफू भावुक बनेको भन्दै पुष्पले पारिश्रमिक फिर्ताको कुरा गरेका थिए।
दीपक वली निर्देशित फिल्म कृष्णलीलामा पुष्पले अटिजम पीडित युवकको चरित्र निर्वाह गरेका थिए जसलाई दर्शकले रुचाएका थिए। तर पनि बक्स अफिसमा फिल्मले जादू देखाउन सकेन।