काठमाडौँ - म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्।
सङ्घीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ। विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ। ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले बताए। “बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ,” उनले भने।
उनले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको बताए। जिल्लाको ६ वटै स्थानीय तहमा समेत विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ। जिल्लाबाट भारतसहित तेस्रो मुलुकमा विदेसिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ । यसमा पुरुष आठ हजार ८४३ र महिला एक हजार ८७० छन्। पच्चीस हजार ३७४ घरधुरी २९ हजार २४२ परिवार सङ्ख्याको बसोबास छ। ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ।
म्याग्दीको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत छ। वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ। पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ।