एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

काठमाडौँ। नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा गरेको हो। यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय उपाधि समेत हो। 

 यसअघि बङ्गलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणको उक्त च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा पहिलो ऐतिहासिक स्वर्णपदक जितेको थियो। नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले जित्न सफल भयो।  नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा उज्वेकिस्तान विजयी भयो। उज्वेकिस्तान २६–२४ ले विजयी भयो। 

 त्यसैगरी तेस्रो सेटमा नेपालले २५–१५ ले जित्यो। चौथो सेट उज्वेकिस्तानले २५ –२२ ले जित्दा खेल २–२ को स्थितिमा आयो। त्यसपछि खेलको पाँचौँ तथा निर्णायकमा नेपाले १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो।

 लिग चरणमा भने नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो। यही पुस ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको महिलातर्फ आयोजक बङ्गलादेश, नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान गरी छ राष्ट्रको सहभागिता रहेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×