जुम्लावासीको घर फर्कने क्रम सुरु

खलङ्गा - हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ। दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए।

गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि यहाँका बासिन्दा भारतसम्म पुग्ने गर्दछन्। दसैँलगत्तै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन्। “घरमै बसौँ रोजगारीका अवसर छैनन्। बेरोजगार भएर परिवार टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुँदैन।” स्थानीयवासी विर्षबहादुर बुढाले भने, “कालापहाड रहर होइन, बाध्यता हो। हिउँदको सुक्खा याममा खेतीपातीका लागि कुनै काम हुँदैन। बालीनाली लगाउन फागुन महिनासम्म फर्किनुपर्छ। घर फर्कदा सीमानाकामा निकै सास्ती खेप्नुपरेको छ।”  जिल्लाका आठवटै स्थानीय तहका युवा जनशक्ति कालापहाड जाने गरेका छन्। गाउँमा रोजगारीको कुनै अवसर छैन। कालापहाड जानुको विकल्प पनि छैन। 

कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि कालापहाड जाने भएकाले भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिने गरेका छन्। प्रदेश सरकारले कर्णालीका जनताका लागि प्रदेशमै रोजगारी सिर्जना गर्नेमा कुनै चासो नदेखाएको नागरिक समाजका अगुवाले बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×