काठमाडौँ - खेल सम्बन्धी स्पेनिस सञ्चार माध्यममा आएका समाचार अनुसार जिनेदिन जिदान फ्रेञ्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बन्न सहमत भएका छन्।
स्पेनिस क्लव रियाल मड्रिका पूर्व प्रशिक्षक जिदान ३ वर्षका लागि पीएसजीको प्रशिक्षक बन्न सहमत भएको खबर स्पेनिस अनलाइन मुण्डो डिप्रोटिभोले प्रकाशन गरेको छ।
उसका अनुसार पीएसजीका कतारी मालिक तमिम बिन हमाद अल थानीसँग भेटेर जिदानले प्रशिक्षक बन्न सहमति जनाएका हुन्। तर यो महिनाभर अर्थात जुनभर सम्झौतामा हस्ताक्षर नहुने र यसको औपचारिक घोषणा पनि नगरिने मुण्डो डिप्रोटिभोमा उल्लेख गरिएको छ।
दोश्रो पटक रियाल मड्रिडको प्रशिक्षक बनेका जिदानले पछिल्लो सिजनमा कुनै उपाधि जिताउन नसकेपछि दुई हप्ताअघि क्लब छाडेका थिए।
उनले रियाललाई दिएको त्यही बाँकी ३ वर्षको समय पीएसजीलाई दिन लागेका मुण्डो डिप्रोटिभोको दाबी रहेको छ। तर यो समाचार अन्य कुनै पनि सञ्चार माध्यमले पुष्टि गर्न सकेका छैनन्।
पीएसजीले माउरिसिओ पोचिट्टिनोलाई हटाएर जिदानलाई प्रशिक्षक बनाउने हल्ला चलिरहेका बेला फ्रेञ्च राष्ट्रपति इमानुयल माक्रोनले जिदानलाई फ्रान्समा फर्कन र लिग वान् क्लबको प्रशिक्षक बन्न आग्रह गरेका थिए।
रियाल मड्रिडका लागि ३ पटक च्याम्पियन्स लिग जिताएका जिदानले फेञ्च क्लबलाई पनि त्यस्तै सफलता दिलाउन् भन्ने आफ्नो चाहना रहेको माक्रोनले बताएका थिए।
फ्रान्सलाई सन् १९९८ को विश्वकप र २००० को युरो कप फुटबल उपाधि जिताएका जितान सन् २०१६(१८ र २०१९(२१ सम्म रियाल मड्रिडको प्रशिक्षक भएका थिए। प्रशिक्षकको पहिलो कार्यकालमा उनले रियाललाई लगातार ३ सिजन च्याम्पियन्स लिगको उपाध जिताएका थिए।