गौर । बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छिन् । उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आफूसँग टकराए मारिन सक्ने धम्की दिएकी छिन् ।
राउतका कार्यकर्ताले गौर जाने क्रममा उनलाई अवरोध गर्न खोजे पछि उनले यस्तो अभिवेक्ति दिएकी हुन् । उनले राउतलाई राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी थिइन् । ७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।
उनले कार्यक्रममा सम्बोधन गर्दै राइस मिल अहिले पनि जीवित रहेको कारण गौरमा फण्डा देखाउने प्रयास नगर्न आग्रह गरेकी हुन् । उनले यहाँका मानिसले लाठी भाँच्न जानेको भन्दै धम्की पूर्ण धारणा प्रस्तुत गरेकी थिइन् । उनले भनिन्, "तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।"
उनले राउतलाई हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन चुनौती दिएकी थिइन् ।