काठमाडौँ - भुटानलाई २-१ ले पराजित गर्दै नेपाल एक खेल अगावै श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान १ गोल गरेका थिए। भुटानका जितसुन दोर्जेले १ गोल गरे।
समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ। दुवै टोलीले अन्तिम ४ मा स्थान बनाएका छन्। शुक्रबार भारतविरुद्धको खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्नेछ।
समूह ए बाट भने बंगलादेश लगातार दोस्रो जितसँगै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५-१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको थियो।
शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुङगो लगाउनेछ। भुटान भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा भुटान भारतसँग ३-० ले पराजित भएको थियो।