नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ले बेलायतबाट प्रदर्शन थाल्दै

काठमाडौँ - नेपाली गोर्खा सैनिकहरूले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ। २९ जुलाई २०२२, शुक्रवारबाट बेलायतका विभिन्न सहरहरूमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिएका छन्।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले फिल्मलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाई छ। यो फिल्म सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ।

फिल्मले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमा घर युके आर्मी सिनेमामा पनि फिल्म प्रदर्शन हुने निर्देशक शाहीले बताएका छन्। बेलायत प्रदर्शनमा फिल्मलाई ह्याम्पशायर एकाउन्टेन्टले प्रायोजन गरेको छ भने खुकुरी रमले प्रमोसनमा सघाएको छ।

आगामी भदौ २४ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक शाही आफैँले लेखेका हुन्।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रूपमा छन्। निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ रहेका छन्। नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ। नेपालमा फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×