काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी गएराति घाना प्रस्थान गरेका हुन् ।
सम्मेलन यसपटक घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुँदैछ । उक्त सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्ने छन् ।
सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पु¥याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ ।