नुवाकोट । हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पञ्चकन्या गाउँपालिका-३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेको अभियोगमा शिवपुरी गाउँपालिका-१ का ४२ वर्षीय कृष्ण श्रेष्ठ, दुप्चेश्वर गाउँपालिका-७ का ३३ वर्षीय श्यामहरि पण्डित, २९ वर्षीय कुमार पण्डित (बस चालक) र ३४ वर्षीय राजेश कडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
पक्राउ गरेसँगै थापाको शव परीक्षणका लागि त्रिशूली अस्पतलामा पठाएको थियो । त्रिशुलीबाट शिवपुरी तलाखु चल्ने बा२ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा काम गर्दै आएका २० वर्षीय थापाको शव शिवपुरी गाउँपालिका-१ तलाखुस्थित मध्यपहाडी लोकमार्गमा सडक छेउमा घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका १ तलाखुमा मारिएका सहचालक सुमन थापाको अन्त्येष्टि गरिएको छ । त्रिशूली अस्पतालबाट शव बुधबार दिउँसो घर पञ्चकन्या गाउँपालिका-३ राउटार पुर्याएर प्रचलनअनुसार दाहसंस्कार गरिएको हो ।
स्थानीय तादी नदी किनारको घाटमा सुमनको बेलुकी करिब ७ बजे अन्त्येष्टि सकिएको आफन्त मुना अधिकारीले ग्लोबल मिडियालाई जानकारी दिए।
करिब ४ वर्षदेखि बसमा सहचालकका रुपमा काम गर्दै आएका सुमन २३ वर्षका थिए । परिवारमा दुई दिदीबहिनी र तीन दाजुभाइमध्ये सुमन माइला सन्तान थिए । पारिवारिक स्रोतका अनुसार प्लस टु (कक्षा १२) पढेर सुमन गाडी लाइनमा काम गर्न लागेका थिए । आफ्नै मामा ड्राइभर भएकाले सुमन काठमाडौंको गोगंबु बसपार्क क्षेत्र र नुवाकोटमा समेत ‘भान्जा’ भनेर चिनिन्छन् ।