फाइनल पुग्न न्युजिल्यान्ड र पाकिस्तान भिड्दै

काठमाडौँ - आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार दिउँसो पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। गत वर्ष मध्य पूर्वमा भएको विश्वकपको पछिल्लो संस्करणको पनि सेमिफाइनलमा पुगेको पाकिस्तान त्यही संस्करणमा च्याम्पियन बनेको अस्ट्रेलियासँग पराजित भएको थियो।

अर्कातिर न्युजिल्यान्डले फाइनल यात्रा तय गरेर छिमेकीसँग पराजित हुँदा उपविजेतामा सीमित हुनु परेको थियो।

सिड्नी क्रिकेट मैदानमा हुने पाकिस्तान र न्युजिल्यान्ड बीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सुरु हुनेछ। पहिलो सेमिफाइनलले जारी विश्वकपको पहिलो फाइनलिस्टको टुङ्गो लगाउने छ। प्रमुख बलर शाहीन शाह अफ्रिदी लयमा फर्किएसँगै पाकिस्तानको तीव्र गतिको बलिङ अझै तगडा भएको छ।

पछिल्ला केही खेलमा पाकिस्तानको मध्यक्रम पनि केही सुधारिएको संकेत देखाइरहेको छ। तर, कप्तान बाबर आजम र मोहम्मद रिजवानको ढिलो सुरुवातबाट २००९ को च्याम्पियन पाकिस्तान ग्रस्त छ। ओपनर तथा कप्तान बाबर खराब लयबाट गुज्रिरहेका छन्, र सेमिफाइनलमा पाकिस्तानलाई उनको उल्लेख्य प्रदर्शनको खाँचो पर्नेछ।

न्युजिल्यान्डको ब्याटिङतर्फ ग्लेन फिलिप्स अहिलेका स्टार हुन्। सुपर १२ का चार खेलमा एक सय ९५ रन बनाएका फिलिप्सको प्रदर्शन आज पनि टिमका लागि महत्त्वपूर्ण हुनेछ। बलिङतर्फ ४ खेलमा ८ विकेट लिएका स्पीनर मिट्चेल सान्टनर टिमका महत्त्वपूर्ण सदस्य छन्। टिममा भएका केही पावर-हिटरका कारण न्युजिल्यान्डको टिम धेरै अर्थमा सन्तुलित देखिन्छ।

हेड टू हेड पाकिस्तानको पक्षमा छ। तर, टी-ट्वेन्टी आईमा इतिहासले खासै अर्थ राख्दैन। त्यो दिन जसले राम्रो खेल्छ, उही विजयी बन्ने हो। तर, खेलाडी वा टिमको मनोबलमा भने विगतको नतिजाले अर्थ राख्छ। आजको विजयी टिमले भोलि (बिहीबार) हुने भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल विजेतासँग आइतबार उपाधिका लागि खेल्ने छ।

टी-ट्वेन्टी आईमा हेड टू हेड

खेल - २८
पाकिस्तान विजयी - १७
न्युजिल्यान्ड विजयी - ११

टी-ट्वेन्टी विश्वकपमा हेड टू हेड

खेल - ६
पाकिस्तान विजयी - ४
न्युजिल्यान्ड विजयी - २

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×