काठमाडौँ - पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ।
पाल्पाका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको हो। लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्राण्डिङ’ गरिँदैछ।
ब्राण्डिङ नै गरेर प्रमाणित गरी पाल्पाली ढाका कपडा चिनाउने अभियानमा जुटेको तानसेन नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिए। नेपाल र नेपालीको ब्राण्डका रूपमा विदेशमा समेत यसले पहिचान बनाएको उनले बताए। जिल्लामा हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराइनेछ। ढाका उद्योगी सागर महर्जनले भने, “अब देशका ठूला सहरमा पाल्पाली ढाका कपडा सहजरूपमा उपलब्ध हुनेछ। यसका लागि पाल्पाली ढाका सङ्घले परियोजनाका माध्यमबाट उत्पादन वृद्धि गर्नेछ।”
सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ। यसमाथि हातबाट बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट मानिँदै आएको छ। यस्तो कपडालाई अझ बढी प्रचार–प्रसार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्न सक्छ। आकर्षक ढाका कपडा उत्पादन गर्ने उद्योगमा दक्ष कामदारको अभावले थियो। कामदार अभावमा ढाका कपडा उत्पादन न्यून मात्रा रहेकामा सीप परियोजनाको सहयोगमा अहिले बन्द उद्योग सञ्चालनमा छन्।
पाल्पाली ढाका कपडा पाल्पाको मौलिक पहिचान हो। पाल्पा ढाका उद्योगी सङ्गठित भएपछि ढाका कपडा उत्पादन, विविधिकरण, तयारी पोशाक, बजारीकरणमा परियोजनाले सहयोग गरेपछि ढाका कपडाको उत्पादनमा वृद्धि भएको ढाका उद्यमी मनोज पौड्यालले जानकारी दिएका छन्।