काठमाडौँ- युरोपेली फुटबलको निकाय यूएफाले जुलाईमा हुने महिला युरोपियन च्याम्पियनसिप र आगामी वर्षको महिला विश्वकपबाट रुसी टोलीलाई प्रतिबन्ध लगाएको छ।
यो यूएफाको रुसीमाथि थप कारबाही हो। यसअघि, यूएफा र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसको राष्ट्रिय टोली र क्लबहरुलाई अर्को सुचना नआउन्जेल अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बित गरिसकेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनमाथि सेना आक्रमण गराएको केही दिनपछि नै यूएफा र फिफाले रुसको राष्ट्रिय टोलीलाई प्रतिबन्ध लगाएका थिए।
यो कारबाहीले गर्दा पोर्चुगलको भाग्य खुलेको छ। रुससँग प्लेअफमा हारेको पोर्चुगलले इंग्ल्यान्डमा जुुलाई ६ देखि ३१ तारिखसम्म हुने महिला युरोमा खेल्न पाउने भएको छ। ।यूएफाले रुसद्वारा २०२८ र २०३२ मा हुने पुरुषको युरो कपका लागि राखिएको आयोजना प्रस्तावलाई खारेजसमेत गरको छ। यो कारबाहीपछि युरो २०२८ को लागि ब्रिटेन र आयरल्यान्डको संयुक्त आयोजना प्रस्तावमा टर्की मात्रै एक्लो प्रतिद्वन्द्वी राष्ट्र बचेको छ।
टर्कीले सन् २०३२ को युरो कपमा आयोजक बन्ने चासो भएको धारणा राखेको छ। रुसका क्लबहरूले पनि २०२२–२०२३ सिजनमा प्रतिस्पर्धा गर्न पाउने छैनन्। यो सिजनमा च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फ्रेन्स लिगका साथै अन्य युरोपेली प्रतियोगितामा खेल्नबाट रुसी क्लबहरू वञ्चित भएका छन्।
यूएफाद्वारा जारी गरिएको वक्तव्यमा रुसले आगामी जुनदेखि शुरु हुने नेसन्स लिगमा पनि भाग लिने नपाउने उल्लेख गरेको छ। यूएफाको कावरबाहीले गर्दा जर्मन क्लब आरबी लेइपजिग यस सिजनको युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ। रुसको क्लब स्पार्टक मास्को बाहिरिएपछि अन्तिम १६ को खेल पनि रद्द गरिएको थियो।