काठमाडौँ - बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन्। विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन्।
असिन - आमिर खानसँग ‘गजनी’ फिल्ममा अभिनय गरेर चर्चा कमाएकी अभिनेत्री असिनले पनि बिहेपछि फिल्म अभिनय बन्द गरिन्। सन् २०१६ मा व्यापारी राहुल शर्मासँग बिहे गरेकी असिन हाल ३१ वर्षकी भइन्। गजनी हिट भएपछि उनले थुप्रै फिल्ममा अभिनय गरिन्। उनले गजनीका साथै ‘लन्डन ड्रिम्स’, ‘हाउसफुल–२’, ‘बोल बच्चन’, ‘खिलाडी ७८६’, ‘अल इज वेल’लगायतका फिल्ममा अभिनय गरेकी छिन्।
नेहा बाजपेयी - अभिनेता मनोज बाजपेयकी पत्नी नेहालाई बलिउडमा सवाना रजाका नामले पनि चिनिन्छ। उनले सन् १९९८ मा बनेको ‘करिब’ फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी थिइन्। सो फिल्ममा नेहा बबी देओलकी प्रेमिकाको भूमिकामा थिइन्। सन् २००६ मा मनोजसँग बिहे गरेपछि नेहाले फिल्म अभिनयबाट सन्यास नै लिइन्। उनले ‘होगी प्यारकी जित’, ‘फिजा’, ‘एहसास–द फिलिङ्स’, ‘राहुल’, ‘मुस्कान’, ‘करम’, ‘कोही मेरे दिल मे है’, ‘एसिड फ्याक्ट्री’लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।
गायत्री जोशी - गायत्री विभिन्न टेलिसिरियलकी चर्चित अभिनेत्री हुन्। शाहरुख खानसँग ‘स्वेदश’ फिल्ममा अभिनय गरेकी गायत्रीले पनि बिहेपछि फिल्मी करिअर समाप्त गरिन्। व्यापारी विकास ओबरायसँग सन् २००५ मा बिहे गरेपछि अभिनय जीवन त्यागेकी गायत्री अहिले ४३ वर्षकी भइन्।
ट्विंकल खन्ना - अक्षयकुमारकी पत्नी ट्विंकल खन्ना पनि एक समयकी निकै व्यस्त हिरोइन हुन्। सुपरस्टार राजेश खन्नाकी छोरी ट्विंकलले पनि बिहेपछि फिल्म अभिनय बन्द गरेकी हुन्। सन् १९९५ मा बनेको ‘वर्षात्’ फिल्मबाट करिअर सुरु गरेकी ट्विंकल र अक्षयको सन् २००१ मा बिहे भएको हो। उनले वर्षात्पछि ‘जान’, ‘जब प्यार किसिसे होता है’, ‘मेला’, ‘जोरका गुलाम’, ‘जोडी नम्बर १’, ‘लभके लिए कुछ भी करेगा’लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन्।
नम्रता सिरोडकर - पूर्वमिस इन्डिया नम्रता सिरोडकरले पनि बिहेपछि फिल्मी करिअर त्यागिन्। ‘वास्तव’, ‘पुकार’, ‘ब्राइड एन्ड प्रिज्युडिस’लगायतका फिल्ममा अभिनय गरेकी नम्रताले साउथ इन्डियन हिरो महेश बाबुसँग सन् २००५ मा बिहे गरिन्। ४५ वर्षीया नम्रता अचेल दुई बच्चाको रेखदेखमा व्यस्त छिन्।
संगीता बिजलानी - ९० को दशकमा आफ्नो सुन्दरता र अभिनय कलाका कारण संगीताले बलिउडमा आफ्नो स्थान बनाएकी थिइन्। २० वर्षको उमेरमै मिस इन्डियाको उपाधि जितेकी संगीताले सन् १९८८ मा ‘कातिल’ फिल्मबाट डेब्यु गरेकी थिइन्। त्यसपछि उनले ‘हतियार’, ‘बटवारा’, ‘त्रिदेव’, ‘जुर्म’, ‘इज्जत’, ‘युगान्धर’, ‘योद्धा’, ‘खुनका कर्ज’लगायतका फिल्ममा अभिनय गरिन्। सन् १९९६ मा भारतीय क्रिक्रेट टिमका पूर्वकप्तान मोहम्मद अजहरुद्धिनसँग बिहे गरेकी संगीताले त्यसपछि फिल्म अभिनयबाट बिदा लिइन्।
अमृता अरोडा - अमृता अरोडा पनि एक समयकी चर्चित अभिनेत्री हुन्। सन् २००२ मा ‘कितने दुर कितने पास’नामक फिल्मबाट हिरोइन बनेकी उनले त्यसपछि ‘कमबक्त इस्क’, ‘गर्लफ्रेन्ड’, ‘फाइट क्लब’लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन्। सन् २००९ मा सकिल लडकसँग बिहे गरेपछि भने उनले फिल्म अभिनय चुटुक्कै छाडिन्। दुई बच्चाकी माता ३६ वर्षीया अमृता फिल्मी पार्टीमा भने देखापर्ने गर्छिन्।