ओखलढुङ्गा। ओखलढुङ्गामा चार हजार ३५९ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले मङ्सिर १७ गतेदेखि सुरु गरेको मतदाता नामावली सङ्कलन अभियानमा चार हजार ३५९ जना नयाँ मतदाताले नामावली दर्ता गराएका हुन्।
जिल्लाका आठमध्ये निर्वाचन कार्यालय रहेको सदरमुकामको सिद्धिचरण नगरपालिकाबाहेक सात वटा स्थानीय तहमा दुई चरणमा मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो। मङ्सिर १७ गतेदेखि २६ गतेसम्म सञ्चालित पहिलो चरणको अभियानमा मानेभञ्ज्याङमा ५१४ जना, चिशङ्खुगढीमा २७४, सुनकोशीमा ५८५ जना र खिजीदेम्बा गाउँपालिकामा ८२० जनाको नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताए। उनका अनुसार मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित दोस्रो चरणको अभियानमा मोलुङ गाउँपालिकाका ४९२ जना, चम्पादेवी गाउँपालिकाका ३८६ जना र लिखु गाउँपालिकाका ३२७ जनाको नयाँ नामावली सङ्कलन छ।
सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट ८९५ जना, जिल्ला निर्वाचन कार्यालयबाट ४७ जनाको नामावली सङ्कलन गरिएको छ। यसअघि अद्यावधिक मतदाता नामावलीअनुसार ओखलढुङ्गामा एक लाख सात हजार ६४२ जना मतदाता थिए। चार हजार ३५९ जना थपिँदा जिल्लामा कूल मतदाताको सङ्ख्या एक लाख १२ हजार एक जना पुगेको छ।
निर्वाचनको मिति नतोकिएसम्म मतदाता नामावलीमा नाम छुटेकाले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय खिजीदेम्बा र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गराउन सकिने जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ। निर्वाचन आयोगका अनुसार जिल्ला बाहिर रहेका जिल्लावासी नागरिकले आफू बसोबास गरेको सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने छ।